रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहान ७ बजेसम्म विभिन्न आठ जिल्लाबाट ४६९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार रातिसम्मको विवरणअनुसार बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, अध्यागमन कार्यालयका चार जना छन्।
त्यस्तै रसुवाका १६१, नुवाकोटका एक र मकवानपुरका ६६ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यसबाहेक ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन छन्। नेपाल भ्रमणमा आएका १२७ जना विदेशी नागरिकसमेत सम्पर्कमा नरहेको विवरणमा उल्लेख छ।
बाढीमा परी हालसम्म ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवामा ४३, धादिङमा तीन र नुवाकोटमा २७ जना रहेका छन्।
उद्धार तथा खोजी कार्यका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना छन्।
शुक्रबार बिहानैदेखि प्रभावित क्षेत्रमा पुनः खोजी तथा उद्धार कार्य सुरु गरिएको छ। बेपत्ताको खोजी, घाइतेको उद्धार र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई सुरक्षाकर्मीले प्राथमिकताका साथ अघि बढाइरहेका छन्।