भोटेकोशी बाढीका ५९ घाइतेको काठमाडौंमा उपचार हुँदै
काठमाडौं । भोटेकोशी बाढीमा घाइते भई उद्धार गरिएका ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लाबाट ८८ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।
उद्धार गरिएका घाइतेमध्ये २९ जना उपचारपछि डिस्चार्ज भएर फर्किसकेका छन्। काठमाडौंका विभिन्न अस्पतालमा अझै ५९ जनाको उपचार भइरहेको केन्द्रले जनाएको छ।
शिक्षण अस्पताल महाराजगञ्जमा तीन जना घाइतेको उपचार भइरहेको छ भने ११ जना उपचारपछि डिस्चार्ज भएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना डिस्चार्ज भएका छन्।
त्यस्तै, वीर अस्पतालमा भर्ना भएका ६ जनामध्ये पाँच जना उपचारपछि घर फर्किएका छन्। मनमोहन अस्पतालमा दुई, ग्रीनसिटी अस्पतालमा एक, नर्भिक अस्पतालमा दुई तथा मनमैजु शुभम् अस्पताल र नेपाल मेडिकल कलेजमा एक–एक जना घाइतेको उपचार भइरहेको छ।
बाढी प्रभावित क्षेत्रबाट घाइतेको उद्धार गरी काठमाडौं ल्याउने र आवश्यक उपचारको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिइएको छ।