नेकपा कार्यदिशा बारेमा अध्यक्ष प्रचण्ड – पोखरेल घम्साघम्सी विवाद
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको आन्तरिक विवाद छताछुल्ल बनेको छ । कार्यदिशा मिलेको भन्दै एकता भएको एक वर्षपछि नै कार्यदिशाकै विषयलाई लिएर विवाद चरम अवस्थामा पुगेको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि राजनीतिक प्रतिवेदन लेख्न समिति बनाइएको थियो ।समितिले लेखेर दिएको राजनीतिक प्रतिवेदन भने अहिलेसम्म छापिएर बाहिर आएको छैन ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच शीतयुद्ध सुरु भएको छ । पार्टी एकताको समयमा राजनीतिक प्रतिवेदनमा अबको कार्यदिशा जनताको जनवाद हुने लेखेर सचिवालयबाट पास भयो तर, पछिल्लो समयमा तत्कालीन एमालेले जनताको बहुदलीय जनवाद फर्काउने प्रयास गरेपछि दाहाल तनावमा देखिएका हुन ।हुनत तत्कालीन एमालेका नेता र दाहालबीच सार्वजनिक मञ्चमा नै विचारको बहस सुरु भएको छ ।
३ जेठमा बल्खुमा भएको मदन–आश्रितको स्मृति सभामा दाहालले पुरानैमा टाँसिएर बस्ने होइन नयाँ फड्को मार्नुपर्ने अभिव्यक्ति दिए । लगत्तै त्यसको प्रतिवाद गर्दै ओलीले जनताको बहुदलीय जनवादले आफूहरु यहाँ पुगेको जान्कारी दिए।
सचिवालय सदस्य ईश्वर पोखरेललाई पनि जबज कुण्ठा पोख्ने माध्यम बनेको छ । पोखरेलले पछिल्लो समयमा जबज बोकेर कार्यकर्तामाझ जाने बताउँदै आएका छन् । उनले अहिलेको मार्गदर्शक सिद्धान्त जबज नै हो भन्दै आएका छन् । तर, उनको यो अभिव्यक्तिलाई पार्टी अध्यक्ष ओलीबाहेक कसैले पनि खुलेर साथ नदिएको नेताहरु नै बताएका छन ।
, दाहाल भने जनताको जनवाद भन्दै तत्कालीन एमाले र माओवादी केन्द्र को तीन धार बोकेर जबजको ‘च्याप्टर क्लोज’ गराउने अभियानमा लागेका हुन । कार्यदिशाको विवाद उत्कर्षमा पुगेपछि नेकपाका नेताले आन्तरिक गुटबन्दी तीव्र पारेका छन् ।
शुक्रबार प्रचण्डले तत्कालीन एमालेका सचिवालयका नेतासँग एक्ला एक्लै भेटघाट गरे । शुक्रबार बिहान वामदेव गौतमलाई भेटेका उनले गौतमसँग अहिले पार्टीमा भएको आन्तरिक विवादबारे छलफल गरेको बुझिएको छ । त्यही दिन अर्का वरिष्ठ नेता झलनाथ खनाललाई पनि दाहालले खुमलटार बोलाएर करिब दुई घण्टा छलफल गरेको बुझिएको छ ।
दाहालले नेताहरूसँग अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेको उनी निकट एक नेताले बताए । अर्का अध्यक्षले एकता भएको १५ महिनापछि जबज नै बिउँताउने तयारीसाथ जनताको जनवादको राजनीतिक प्रतिवेदन नछाप्ने मनसाय बनाएपछि दाहाल बढी एग्रेसिभ बनेको तत्कालीन माओवादीका नेता बताउँछन् ।
ती नेताले भने, ‘कार्यदिशा, राजनीति र विचार मिलेर एकता भएको १५ महिनापछि तत्कालीन एमालेका साथीले बेइमानी गर्न थालेको बुझियो, त्यही भएर अध्यक्ष नयाँ रणनीतिअनुसार चल्न खोज्दै हुनुहुन्छ ।’
शनिबार बिहान दाहालले तत्कालीन माओवादीका नेतालाई खुमलटारमा बोलाएर अब कसरी अगाडि बढ्ने भनेर छलफल गरेका छन् । उनले आफू निकट नेताहरुसँग राजनीतिक प्रतिवेदनबारे छलफल गरेकोे बुझिएको छ । दाहाल जसरी पनि जनताको जनवाद नामक राजनीतिक प्रतिवेदन छपाउने तयारीमा छन् ।
शनिबार राति पनि प्रचण्डलगायतका केही नेताले राजधानीको अर्याल होटलमा गोप्य बैठक बसेको बुझिएको छ । राति करिब २० मिनेट बसेको बैठकमा गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलसहित नेता सहभागी भएको बुझिएको छ ।
सचिवालयमा दाहाल–पोखरेल एक अर्काप्रती आरोप
शनिबार नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । सचिवालय बैठकले जिल्लाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउने अनुमान गरिएको थियो तर अहिले हुन सकेको छैन । प्रधानमन्त्रीको युरोप भ्रमणबारे मात्र छलफल भएर बैठक स्थगित भएको थियो । तर, अध्यक्ष दाहाल र सचिवालय सदस्य ईश्वर पोखरेलबीच भनाभन भएको बुझिएको छ ।
उच्च स्रोतका अनुसार दाहालले पोखरेललाई तपाईंले जबज भन्दै भाषण गरेपछि आफूलार्ई अप्ठ्यारो भएकोु बताएका थिए ।
‘पार्टीका सबै साथीले यसरी हुँदैन भन्न थालेका छन् । यस्तो गर्नुभएन हामी जिम्मेवार नेताहरुले,’ दाहालले पोखरेललाई भनेको उद्धृत गर्दै एक नेताले शिलापत्रसँग भने । जवाफमा पोखरलले दाहाललाई ुयस्तो बोल र उस्तो बोल भनेर नसिकाउनु भनेको ती नेताको दाबी गरेकाछन ।
तत्कालीन समीकरणमा प्रचण्डसँग माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । उता, अर्का अध्यक्ष ओलीसँग सचिवालयमा ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल रहेका छन् ।