काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनमा महानगरको मेयर पदमा उम्मेदवारी दिने जानकारी दिएकी हुन् ।
श्रेष्ठले आफ्नो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन तथा रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
हाल कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेकी श्रेष्ठले स्वतन्त्र रूपमा वा कुनै दलबाट उम्मेदवारी दिने भन्नेबारे भने खुलाएकी छैनन् ।
श्रेष्ठले गत वर्ष भदौमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी थिइन् । उनी रास्वपाकी सहमहामन्त्रीसमेत थिइन् । २०७९ सालमा समानुपातिक सांसद बनेकी उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेकी थिइन् ।