जनकपुर–अयोध्या रेल सेवा आजदेखि सुरु हुँदै
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई जोड्ने रेल सेवा आजदेखि सुरु हुँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ।
भारतीय रेल्वेले जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच सातामा एकपटक सञ्चालन हुने नयाँ रेल सेवाका लागि स्वीकृति दिएको हो। करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै दुई धार्मिक नगरीलाई जोड्नेछ।
निर्धारित तालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्याबाट छुटेर मंगलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ।
रेलले जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुरलगायतका स्थानमा व्यावसायिक बिसौनी गर्नेछ।
यो सेवा सुरु भएपछि रामायणसँग जोडिएका दुई ऐतिहासिक तथा धार्मिक नगरीबीच आवागमन सहज हुने र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय राजनीतिक दलका नेताहरूले पनि रेल सेवालाई जनकपुरधामको पर्यटन, व्यापार र रोजगारीका लागि महत्वपूर्ण उपलब्धि मानेका छन्। उनीहरूले सेवा नियमित सञ्चालन गर्न तथा पर्यटकमैत्री पूर्वाधार, सरसफाइ, सुरक्षा र आवास व्यवस्थापनमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
जनकपुरधाम र अयोध्याबीचको सीधा रेल सम्पर्कले नेपाल–भारतको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ।