बालेन–जयशंकरबीच क्रिकेट कूटनीतिदेखि हवाई रुटसम्म छलफल
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच आइतबार साँझ नयाँदिल्लीस्थित ताज होटलमा करिब २० मिनेट छलफल भएको छ।
भेटमा प्रधानमन्त्री शाहले नेपाल–भारतबीच क्रिकेट कूटनीति र खेलाडीहरूको सहकार्यको विषय उठाएका थिए। प्रक्रियागत समस्याबारे जयशंकरले धारणा राखेपछि बालेनले ‘पहिला आइडियल कुरा गरौँ, प्रक्रिया त मिल्दै जान्छ’ भनेका थिए।
प्रधानमन्त्रीको भारत भ्रमणमा मुख्यगरी हवाई रुट र आर्थिक साझेदारीका विषय प्राथमिकतामा छन्। विशेषगरी नेपालले माग्दै आएको महाकाली हवाई प्रवेश विन्दु र भारतले अघि सारेको बागडुगराको रुटबारे सहमति जुट्न सकेको छैन।
यसैबीच, नेपाल र भारतले कनेक्टिभिटी, ऊर्जा, जलस्रोत, आर्थिक साझेदारी र जनस्तरको सम्बन्धलगायत विषय समेटिएको १० बुँदे साझा भिजन पेपर सार्वजनिक गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री शाहले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग ३० मिनेट वान अन वान वार्ता गर्ने कार्यक्रम छ। उनी आजै स्वदेश फर्किनेछन्।