बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर ८ वर्षीय बालकको मृत्यु
बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–५ निवासी बलबहादुर बुढाका ८ वर्षीय छोरा समिर बुढा रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे गौमुल गाउँपालिका–४ स्थित घोगालाबाट घर फर्किने क्रममा अचानक भिरबाट ढुङ्गा खसेर समिरको टाउकोमा लागेको थियो। ढुङ्गा लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीयले साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय गौमुलमा जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शुक्रबार राति ८ः३० बजे बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पठाएको थियो। राति १०ः३० बजे शव जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।