२८ लाखभन्दा बढी मूल्यका अवैध भारतीय फूल बरामद गरी नष्ट
सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छली अवैधरूपमा नेपाल भित्र्याइएका करिब २८ लाख २७ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका फूल बरामद गरी नष्ट गरेको छ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट गैरकानुनी बाटो हुँदै ल्याइएका सयपत्री, कमल र रजनिगन्धाका फूल झापा र धनुषाका विभिन्न सीमावर्ती क्षेत्रबाट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
झापाको भद्रपुर नगरपालिका–८ स्थित देवीबस्तीबाट सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाको टोलीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा भारतीय फूल बरामद गरेको थियो।
सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको नौ सदस्यीय मोबाइल गस्ती टोलीले २२ लाख ६८ हजार ४ सय रुपैयाँ बराबरका ११ हजार ३४२ थान सयपत्री माला तथा २ लाख ९५ हजार रुपैयाँ बराबरका १२ झोला कमलका फूल बरामद गरेको हो।
झापाबाट मात्रै २५ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरका फूल बरामद गरिएको थियो। उक्त फूल जनप्रतिनिधिको उपस्थितिमा सशस्त्र प्रहरी गण परिसरमा खाल्डो खनी पुरेर नष्ट गरिएको छ।
यसैगरी धनुषाका दुई स्थानबाट पनि अवैधरूपमा भित्र्याइएका फूल बरामद गरिएको छ। बिओपी देवडिहाबाट खटिएको गस्ती टोलीलाई देखेपछि तस्करहरू दुईवटा मोटरसाइकलमा ल्याउँदै गरेको फूल छाडेर फरार भएका थिए। त्यहाँबाट ९१ हजार रुपैयाँ बराबरको १३० केजी सयपत्री र ३३ हजार रुपैयाँ बराबरको ३० केजी रजनिगन्धा बरामद गरिएको थियो।
त्यस्तै, कात्तिक २२ गते बिहान बिओपी फुलगामाको टोलीलाई देखेपछि तस्करहरूले सीमा क्षेत्रमा छाडेर भागेका करिब १ लाख ४० हजार रुपैयाँ बराबरका २०० केजी सयपत्री फूल पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
धनुषाका दुवै स्थानबाट बरामद गरिएका फूल स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, भन्सार कार्यालयका प्रतिनिधि तथा पत्रकारहरूको रोहवरमा खाल्डो खनी नष्ट गरिएको थियो।
नेपाली किसानले उत्पादन गरेका स्थानीय फूलको प्रवर्द्धन गर्नुका साथै अवैध आयात नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रमा निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
तिहार तथा छठ पर्वमा फूलको माग बढ्ने भएकाले अवैध आयात रोक्न सीमावर्ती क्षेत्रमा गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीको भनाइ छ।