मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई कोशी प्रदेशको पनि कार्यभार
राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभारसमेत तोकेका छन् । कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि कर्णलाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उनलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णयबारे जानकारी दिइएको छ ।