सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल नियुक्त
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समिति संयोजकमा नियुक्त भएका छन्। माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समिति बैठकले ढकाललाई उक्त जिम्मेवारी दिएको हो।
नियुक्तिपछि ढकालले दक्षिण एसियालाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न क्षेत्रीय लगानी, पर्यटन पूर्वाधार र हवाई सम्पर्क विस्तारमा जोड दिएका छन्।
उनले ‘ट्राभल विदिन सार्क’ अभियान सञ्चालन गरी सदस्य राष्ट्रबीच साझा पर्यटन सर्किट तथा प्याकेज निर्माण गर्नुपर्ने धारणा राखेका छन्।
सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच सहकार्य बढाएर क्षेत्रीय पर्यटन प्रवर्द्धनमा परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।