अखाद्य पदार्थ मिसाएर मह उत्पादन तथा बिक्री गरेको आरोपमा एक जना पक्राउ
अखाद्य पदार्थ मिसाएर मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका क्षेत्रमा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार मंसिर ८ गते दिउँसो टोखा नगरपालिका–१ स्थित भण्डारे क्षेत्रमा अखाद्य पदार्थ मिसाएर मह उत्पादन तथा बिक्री भइरहेको सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थलमा पुगेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा गुरुङको साथबाट अखाद्य पदार्थ मिसावट गरिएको भनिएको १५ बाल्टिन अर्थात् ३८४ केजी मह बरामद गरिएको प्रहरीले जनाएको छ प्रहरीले बरामद महसहित गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।