भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्दै
नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने भएका छन्। भेटका क्रममा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारी तथा भ्रमणका एजेन्डाबारे छलफल हुने बताइएको छ।
परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि मिश्री बुधबार काठमाडौं आइपुगेका हुन्। नेपाल भ्रमणका क्रममा उनले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृत राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
ती भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्यका सम्भावित क्षेत्र तथा उच्चस्तरीय भ्रमणका क्रममा उठाउन सकिने विषयमा छलफल भएको बताइएको छ।
नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय पनि छलफलको प्राथमिकतामा रहेको जनाइएको छ। विदेश सचिव मिश्री आज अपराह्न आफ्नो दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ।