कांग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि, प्रदेश अधिवेशन पुस १२ देखि
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका तय गरेको छ। पार्टी सभापति गगनकुमार थापाका अनुसार हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने तयारी गरिएको छ।
मौसम र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै हिमाली जिल्लाको अधिवेशन मंसिरमै गर्न लागिएको हो। विशेष परिस्थिति आएमा सम्बन्धित जिल्ला समितिसँगको परामर्शमा मिति हेरफेर गर्न सकिने जनाइएको छ।
त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेभित्र सम्पन्न गर्ने तयारी छ। सातै प्रदेशमा एकैदिन अधिवेशन नगरी एक–दुई दिनको फरकमा सञ्चालन गरिने सभापति थापाले बताएका छन्।
सबै मितिको अन्तिम टुङ्गो जिल्ला तथा प्रदेश समितिसँग परामर्श गरेपछि केन्द्रीय निर्वाचन समितिले लगाउनेछ। कांग्रेसले १५औँ महाधिवेशनपछि सङ्गठन सुदृढीकरणका लागि देशभर ‘हामी तयार छौँ अभियान’ समेत सञ्चालन गरिरहेको छ।