दैलेखमा बाबुद्वारा श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार, आमा र दुई छोराछोरीको मृत्यु
दैलेखमा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा श्रीमती र दुई सन्तान रहेका छन् भने एक छोरा गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शुक्रबार बिहान करिब ९ः३५ बजे सामान्य घरायसी विवादमा आफ्नै परिवारका सदस्यहरूमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेका थिए।
उनले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्माको टाउकोमा बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
घटनालगत्तै चारै जनालाई एम्बुलेन्समार्फत उपचारका लागि नगर अस्पताल दुल्लु लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले जाँच गर्ने क्रममा बिहान ११ः१० बजे १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिस्मालाई मृत घोषणा गरेका थिए।
दुल्लु अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते मनिषा र ६ वर्षीय मिलनलाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको थियो। सुर्खेत अस्पतालमा दिउँसो २ बजे पुर्याइएकी मनिषाको २ः१० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थल प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटरको दूरीमा रहेको छ। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गर्ने अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।