एनपीएलसहित विभिन्न खेलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा पाँच जना पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले शुक्रबार साँझ दाङको लमही नगरपालिका–५ स्थित जस्मिन होटल एन्ड लजमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
होटलको तेस्रो तलाका दुई कोठा भाडामा लिएर अनलाइन सट्टेबाजीका गतिविधि सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
पक्राउ पर्नेमा भारतका चार जना र नेपालका एक जना रहेका छन् । पक्राउ पर्ने नेपाली नागरिक डोटीका ३२ वर्षीय सागर राना हुन् ।
प्रहरीका अनुसार उनीहरूले कुश ७७७ लगायतका विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी कारोबार सञ्चालन गर्दै आएका थिए ।
पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।