अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन पाइने, नयाँ नियमावली जारी
सरकारले नागरिकतासम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउन नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ।
गृह मन्त्रालयले बिहीबार जारी गरेको संशोधित नियमावलीअनुसार अब नेपाली नागरिकले आफूले नागरिकता लिएको जिल्लाबाहेक अन्य जिल्लाबाट पनि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्नेछन्।
त्यसका लागि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पेस गर्नुपर्नेछ। सम्बन्धित व्यक्तिको विवरण नागरिकता सूचना व्यवस्थापन प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग रुजु गरेपछि प्रमुख जिल्ला अधिकारीले प्रतिलिपि जारी गर्न सक्नेछन्।
नियमावलीले नागरिकता हराएमा, च्यातिएमा वा आगलागी तथा पानीका कारण नष्ट भएमा प्रतिलिपि लिन सकिने व्यवस्था गरेको छ।
त्यस्तै, विवाहअघि नागरिकता नलिएकी नेपाली महिलाले नेपाली नागरिक पतिका ठेगानाबाट नागरिकता लिन चाहेमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
संशोधित नियमावलीमा नागरिकताको अभिलेख डिजिटल प्रणालीमा राख्ने, नाबालक परिचयपत्रको प्रतिलिपि उपलब्ध गराउने तथा नागरिकतासम्बन्धी कामका लागि स्थानीय तहले दिएको सिफारिस ३५ दिनसम्म मान्य हुने व्यवस्थासमेत गरिएको छ।
नयाँ नियमावली तत्काल लागू हुने गृह मन्त्रालयले जनाएको छ।