एच–१बी भिसाधारीलाई झट्का : जागिर गुमेपछि पाइने ६० दिनको समय हटाउने तयारी
काठमाडौं — अमेरिकामा एच–१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीलाई जागिर गुमेपछि नयाँ रोजगारी खोज्न दिइँदै आएको ६० दिनको समयावधि हटाउने तयारी गरिएको छ। अमेरिकी सरकारले यससम्बन्धी प्रस्ताव अघि बढाएको हो।
उक्त प्रस्ताव हाल ह्वाइट हाउसको ‘अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट’ (ओएमबी) मा पठाइएको छ। तर, प्रस्ताव अहिलेसम्म अन्तिम नियमका रूपमा लागू भइसकेको छैन।
उपलब्ध तथ्यांकअनुसार अमेरिकामा एच–१बी भिसामा कार्यरत करिब ३० हजार नेपाली र ५ लाख भारतीय नागरिक नयाँ व्यवस्थाबाट प्रभावित हुन सक्ने बताइएको छ। ६० दिनको समयावधि हटाइएमा एच–१बी भिसाधारीले जागिर गुमाएपछि अमेरिकामै बसेर अर्को रोजगारी खोज्न कठिन हुने देखिन्छ।
हालको व्यवस्थाअनुसार एच–१बी भिसाधारीले जागिर गुमाएपछि अधिकतम ६० दिनसम्म अमेरिकामा रहेर नयाँ रोजगारदाता खोज्न वा आफ्नो कानुनी हैसियत कायम राख्न आवश्यक प्रक्रिया अघि बढाउन सक्छ। नयाँ कम्पनीले उसको एच–१बी आवेदन प्रक्रिया अघि बढाउन सक्ने र निश्चित अवस्थामा आवेदनको निर्णयअघि नै काम सुरु गर्न सकिने व्यवस्था छ।
यसै विषयमा भारतका विदेशमन्त्री एस जयशंकरले गत मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग छलफल गरेका थिए। रुबियोले अमेरिकी आप्रवासन प्रणालीमा परिवर्तनका क्रममा केही समस्या र तनाव उत्पन्न हुन सक्ने स्वीकार गरेका थिए। तर, उनले उक्त कदम भारतलाई लक्षित गरेर नचालिएको स्पष्ट पारेका थिए।
यसैबीच, अमेरिकामा लामो समयदेखि बस्दै आएका नेपाली तथा भारतीयसहित लाखौँ आप्रवासीका लागि ग्रीन कार्ड प्राप्त गर्ने नयाँ अवसर आउन सक्ने भएको छ। अमेरिकी सिनेटमा हालै पेस भएको एक विधेयकमा पछिल्लो सात वर्षदेखि निरन्तर अमेरिकामा बसिरहेका व्यक्तिलाई ग्रीन कार्डका लागि आवेदन दिन अनुमति दिने प्रस्ताव गरिएको छ।
ग्रीन कार्डलाई औपचारिक रूपमा ‘परमानेन्ट रेजिडेन्ट कार्ड’ भनिन्छ। यसले अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अनुमति दिन्छ।
हालको ६० दिने अवधिमा नयाँ जागिर नपाएमा एच–१बी भिसाधारीले अन्य भिसा वा स्टाटस परिवर्तनका लागि आवेदन दिन सक्ने विकल्पसमेत छ। निश्चित सर्त पूरा गरेमा डिपेन्डेन्ट वा भिजिटर स्टाटसका लागि आवेदन दिन सकिने तथा ग्रीन कार्डका लागि योग्य भए कानुनी प्रक्रियाअनुसार अघि बढ्न सकिने व्यवस्था छ।
तर, निर्धारित अवधिभित्र नयाँ रोजगारी वा कानुनी स्टाटस कायम राख्ने प्रक्रिया अघि बढाउन नसकेमा अमेरिकाबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ।