जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार जबरजस्ती करणीका दोषी पुनः पक्राउ
जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय कायम भई सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका कैदी पुरुषोत्तम पहारीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं. ४ निवासी २९ वर्षीय पहारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, बुद्धचोकबाट पक्राउ गरेको हो।
पहारी २०७५ असोज १४ गतेदेखि जगन्नाथदेवल कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा १७ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी छँदा कारागारबाट भागिछिपि रहँदै आएका थिए।
रूपन्देहीमा लुकीछिपी बसिरहेको गोप्य सूचनाका आधारमा खटिएको सीआईबीको टोलीले उनलाई २०८३ भदौ १३ गते पक्राउ गरेको हो। पक्राउ परेका पहारीलाई आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय रुपन्देहीमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।