धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा
बुधबार चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको सदरमुकाम धादिङबेसी जाने मुख्य सडक अवरुद्ध भएपछि अहिले वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । वैकल्पिक सडक सञ्चालनमा आएसँगै धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको हो ।
बुधबार एक्कासि चीनतर्फबाट भोटेकोशी नदी हुँदै त्रिशूलीमा ठुलो बाढी आएको थियो । उक्त बाढीले क्षति पुर्याउँदा धादिङ सदरमुकाम जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए भने अत्यावश्यक सामग्री बोकेका मालवाहक सवारी साधनहरू बिच बाटोमै रोकिन बाध्य भएका थिए ।
यसैबिच, सडक विभागले तत्काल वैकल्पिक मार्ग तयार गरी यातायात सुचारु गरेको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार, मुख्य सडक अवरुद्ध भएपछि यात्रुहरूको सहजताका लागि वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो ।
प्रवक्ता न्यौपानेले दिएको जानकारीअनुसार अब सवारीसाधनहरू परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने मार्गबाट आवतजावत गर्न सक्नेछन् ।
यो वैकल्पिक सडक सञ्चालनमा आएसँगै सदरमुकाम धादिङबेसी सडक सञ्जालबाट विच्छेद हुनबाट जोगिएको छ भने यातायात सुचारु भएको छ।