अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुकलाई इरानको चेतावनी
काठमाडौं — इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका लागि प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुकलाई अमेरिकी सैन्य कारबाहीमा प्रत्यक्ष सहभागी भएको मानिने चेतावनी दिएको छ।
इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई उपलब्ध गराइने सहयोग, सुविधा वा सैन्य आधारको प्रयोगलाई इरानविरुद्धको कारबाहीमा सहभागिताका रूपमा लिइने स्पष्ट पारेका छन्। उनको भनाइ उद्धृत गर्दै मेहर समाचार एजेन्सीले समाचार प्रकाशित गरेको छ।
अब्दोलाहीका अनुसार खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा ठूलो सङ्ख्यामा सैन्य विमान, विशेषगरी हवाई इन्धन भर्ने विमान, सम्बन्धित देशको जानकारी वा सहमतिबिना तैनाथ हुने सम्भावना न्यून छ। त्यसैले इरानविरुद्ध आफ्नो भूभाग प्रयोग गर्न नदिने भन्दै वक्तव्य जारी गरेका खाडी मुलुकहरूको अवस्थाबारे आफूहरू जानकार रहेको उनले बताएका छन्।
उनले अमेरिकी सैन्य गतिविधिका लागि आफ्नो भूभाग, सुविधा वा अन्य सहयोग उपलब्ध गराउने देशलाई इरानले निष्पक्ष तेस्रो पक्षका रूपमा नहेर्ने संकेत गरेका छन्। उनको चेतावनी विशेषगरी खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार र तिनको सम्भावित प्रयोगप्रति लक्षित देखिएको छ।
इरान र अमेरिकाबीच फेब्रुअरी २८ देखि युद्ध जारी रहेको बताइएको छ। इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि युद्ध सुरु भएको र त्यसको जवाफमा इरानले क्षेत्रका अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाइएको छ।
यसैबीच, अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत ‘युएसएस जर्ज वासिङ्टन’ मध्यपूर्वमा पुनः तैनाथ गर्ने तयारी गरिएको छ। चालक दलको जीवनयापनसम्बन्धी अवस्था बिग्रिएको रिपोर्टपछि उक्त विमानवाहकलाई ‘युएसएस अब्राहम लिङ्कन’को स्थान लिन मध्यपूर्व पठाउन लागिएको बताइएको छ।
अमेरिकी सैन्य उपस्थितिसँगै खाडी क्षेत्रमा तनाव बढिरहेका बेला इरानको पछिल्लो चेतावनी आएको हो। खाडी मुलुकहरूले आफूहरू इरानविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नहुने बताउँदै आए पनि अमेरिकी सैन्य गतिविधि र सैन्य आधारको प्रयोगलाई लिएर तेहरानले ती देशमाथि दबाब बढाएको छ।
इरानको चेतावनीले खाडी मुलुकहरूलाई अमेरिकी सैन्य गतिविधि र आफ्नै सुरक्षा हितबीच सन्तुलन कायम गर्न थप कठिन अवस्था सिर्जना हुन सक्ने संकेत गरेको छ।