रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु
काठमाडौं — पूर्वी रोमानियाको बकाउ शहरमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ।
स्थानीय आपतकालीन सेवा प्राधिकरणका अनुसार चिमी स्ट्रिटमा बिहान करिब ३:२१ बजे गुडिरहेको रेलले ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि उद्धारका लागि दमकल, हेभी रेस्क्यु भेइकल तथा मोबाइल इन्टेन्सिभ केयर एम्बुलेन्ससहितको टोली परिचालन गरिएको थियो। तर, उद्धार टोली घटनास्थल पुग्दा दुवै जनामा जीवनको कुनै संकेत नरहेको जनाइएको छ।
बकाउ प्रहरीले जारी गरेको विज्ञप्तिमा रेलको ठक्करबाट गम्भीर घाइते भएका दुवै व्यक्तिलाई स्वास्थ्यकर्मीको टोलीले मृत घोषणा गरेको उल्लेख छ।
प्रारम्भिक विवरणअनुसार मृतक दुवै नेपाली नागरिक रहेको भए पनि उनीहरूको पहिचान भने खुलाइएको छैन। उनीहरू रेलमार्गमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्ने विषयमा स्थानीय प्रहरी तथा रेलवे अधिकारीले अनुसन्धान थालेका छन्।