मधेसमा पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी
मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षमा प्रदेशका विभिन्न जिल्लाबाट ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ।
कार्यालयका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीका घटना बढेको हो।
उनका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ३५ वटा ट्रान्सफर्मर चोरी भएका छन्। यस्तै, बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ–नौ, सप्तरीमा तीन तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका छन्।
चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभिएदेखि २०० केभिएसम्म रहेको प्राधिकरणले जनाएको छ।
ट्रान्सफर्मर चोरीका कारण किसानहरू प्रत्यक्ष प्रभावित भएका छन्। सिँचाइका लागि आवश्यक विद्युत् आपूर्ति अवरुद्ध हुँदा कृषकले समस्या भोग्नुपरेको छ। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी कार्य भइरहेको जानकारी दिए।