फ्लोरेसमा शक्तिशाली भूकम्प, १२ हजार ८०० विस्थापित
जकार्ता । पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्पपछि करिब १२ हजार ८०० मानिस विस्थापित भएका छन्। भूकम्पका कारण घरहरू क्षतिग्रस्त भएपछि हजारौँ मानिस विद्यालय, प्रहरी चौकी तथा सरकारी कार्यालयमा आश्रय लिएर राहतको प्रतीक्षामा छन्।
उद्धार अधिकारीहरूका अनुसार भूकम्पमा ५३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्। हालसम्म कोही बेपत्ता भएको सूचना नआए पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता बर्टन सुआर पेलिता पञ्जाइतानका अनुसार सोमबार बिहानसम्म फ्लोरेसका विभिन्न क्षेत्रमा घर फर्कन नसक्ने विस्थापितको सङ्ख्या १२ हजार ८०० पुगेको छ। लगातार परकम्प गइरहेकाले धेरै मानिस दोस्रो रात पनि घरबाहिर बस्न बाध्य भएका छन्।
भूकम्पको केन्द्रनजिकै रहेको नागेको क्षेत्रमा प्रभावित बासिन्दाले त्रिपाल र खम्बाको सहायताले अस्थायी टहरा बनाएर रात बिताइरहेका छन्। स्थानीय जुनैदिनका अनुसार धेरै घर भत्किएका छन् भने बाँकी घरमा समेत चिरा परेकाले भित्र बस्न सक्ने अवस्था छैन। आवश्यक पानी, कपडा र सिरानी लिन मात्र घर जाने र पुनः अस्थायी शिविरमा फर्किने गरेको उनले बताए। राहत वितरणमा ढिलाइ भएको भन्दै उनले सरकारसँग थप सहयोग मागेका छन्।
यसपटक इन्डोनेसियाली वायुसेनाले दुई हक्र्युलस विमान र एउटा बोइङमार्फत १३ टन आपत्कालीन राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको जनाएको छ। दुर्गम क्षेत्रमा रहेका बासिन्दासम्म राहत पुर्याउन हेलिकप्टरसमेत परिचालन गरिएको छ। राहत सामग्रीमा खाद्यान्न, कपडा, खानेपानी र आपत्कालीन उपचारका सामग्री रहेका छन्।
तर प्रभावित बासिन्दाले राहत पर्याप्त रूपमा नपुगेको गुनासो गरेका छन्। तीन सन्तानकी आमा ३१ वर्षीया सिती सौदाह दासोले आफूले लगाएको कपडाबाहेक अन्य सामान लिएर घरबाट निस्कन नसकेको बताउँदै सरकारी सहयोगको प्रतीक्षामा रहेको जानकारी दिइन्।
उद्धार तथा खोजी अधिकारी फतुर रहमानका अनुसार स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको छ। हालसम्म बेपत्ता भएको सूचना नआए पनि सम्भावित प्रभावित क्षेत्रमा खोजीलाई निरन्तरता दिइएको उनले बताए।
राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पबाट कम्तीमा ९१४ घरमा गम्भीर क्षति पुगेको छ भने सयौँ घरमा सामान्य क्षति भएको छ। विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयसहित दर्जनौँ सार्वजनिक भवनसमेत प्रभावित भएका छन्।
भूकम्पका कारण बालबालिकाको पढाइसमेत प्रभावित भएको छ। गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका अनुसार आठ हजारभन्दा बढी बालबालिका सुरक्षा जोखिम र शिक्षामा अवरोधको अवस्थामा छन्।
फ्लोरेसका बासिन्दाका लागि सन् १९९२ को ७.७ म्याग्निच्युडको भूकम्पको त्रास अझै ताजा छ। त्यसबेला भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो।
भूगर्भीय अधिकारीहरूका अनुसार यसपटकको भूकम्पको केन्द्र फ्लोरेसको उत्तरी तटमा रहेको थियो र भूकम्प तुलनात्मक रूपमा सतहमै गएको थियो। प्रभावित क्षेत्रमा अग्ला भवनको सङ्ख्या कम रहेकाले ठूलो संरचनात्मक क्षति सीमित रहेको बताइएको छ।
इन्डोनेसिया प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ भूकम्प जाने क्रम सामान्य मानिन्छ। सन् २००४ मा सुमात्राको तटमा गएको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीमा विश्वभर करिब दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो। इन्डोनेसियामा मात्रै करिब एक लाख ७० हजार मानिसले ज्यान गुमाएका थिए। उक्त घटनालाई आधुनिक इतिहासकै सबैभन्दा विनाशकारी प्राकृतिक विपत्तिमध्ये एक मानिन्छ।