जलबिरेमा बस–ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था गम्भीर
चितवन, साउन १९ — नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशामा अघि बढिरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको अर्को बससँग ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि सवारीसाधन हटाइएपछि यातायात सञ्चालन पुनः सुचारु भएको प्रहरीले जनाएको छ।