कीर्तिपुर कार आगलागीमा ज्यान गुमाउने व्यक्ति सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि
काठमाडौं — कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। कारमा जलेका व्यक्ति कीर्तिपुर ट्याङ्लाफाँट बस्दै आएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेको काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन्।
नरदेवी घर भएका श्रेष्ठको परिवारले उनको सनाखत गरेको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
मंगलबार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा बा.५ च ३०३८ नम्बरको किया कारमा अचानक आगलागी भएको थियो। प्रत्यक्षदर्शीका अनुसार सेतो रङको उक्त कार चोकमा आएर रोकिएपछि सुरुमा सामान्य आगो देखिएको थियो। पछि आगो एक्कासि फैलिएको थियो।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण भने खुल्न सकेको छैन र प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार उक्त कार नबिल बैंकबाट ऋण लिएर २०६२ साल कात्तिक २७ गते किस्तामा खरिद गरिएको पाइएको छ।