राष्ट्र बैंकले एक खर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८३ दिन अवधिका लागि निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो। बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। यसको साँवा तथा ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिनेछ। एउटै सहभागीले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोल पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आवेदनमा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अङ्कसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ।
केन्द्रीय बैंकले सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बोल स्वीकृत गर्ने जनाएको छ। समान ब्याजदरमा माग बढी भए प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरणमा जम्मा भएको रकम लगानी पोर्टफोलियोका रूपमा गणना हुनेछ। यो रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। उक्त उपकरणको अवधि पूरा हुनुअघि पूर्वभुक्तानी सुविधा उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ।