रास्वपाको राजनीतिक दस्ताबेजमा माओवादी सशस्त्र युद्ध उल्लेख भएन
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो राजनीतिक दस्ताबेजमा १० वर्षे माओवादी सशस्त्र युद्धलाई समावेश नगरेको छ।
पार्टीको पहिलो महाधिवेशनमा सभापति Rabi Lamichhane ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपालको विभिन्न राजनीतिक परिवर्तन र आन्दोलनको चर्चा गरिएको भए पनि माओवादी सशस्त्र युद्धको उल्लेख गरिएको छैन।
‘बलिदानप्रति कृतज्ञ छौँ र भविष्यप्रति विश्वस्त’ शीर्षकको खण्डमा २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२–६३ सालको जनआन्दोलनलाई सम्मानजनक ऐतिहासिक घटनाका रूपमा प्रस्तुत गरिएको छ। साथै ती आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
तर अन्य धेरै राजनीतिक दलले आफ्नो दस्ताबेजमा सकारात्मक वा नकारात्मक रूपमा समेट्ने गरेको माओवादी सशस्त्र युद्ध भने रास्वपाको दस्ताबेजमा अटाएको छैन।
यद्यपि प्रतिवेदनमा महिला, दलित, मधेसी, जनजाति तथा आदिवासी समुदायका आन्दोलनको योगदान र बलिदानलाई सम्मान गर्दै रास्वपाले आफूलाई त्यस ऐतिहासिक यात्राको कृतज्ञ उत्तराधिकारी भएको उल्लेख गरेको छ।