ब्रिक्स सुरक्षा सल्लाहकारहरूको बैठक भारतमा हुँदै
भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक आयोजना गर्ने भएको छ। भारतको विदेश मन्त्रालयका अनुसार बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्नेछन्।
बैठकमा ब्रिक्स सदस्य राष्ट्रका सुरक्षा सल्लाहकार तथा प्रतिनिधिमण्डल प्रमुखहरूले विश्वव्यापी परम्परागत र उदीयमान सुरक्षा चुनौती, नयाँ प्रविधिबाट सिर्जित जोखिम तथा आतंकवादविरुद्धको सहकार्यबारे छलफल गर्नेछन्। साथै सूचना तथा सञ्चार प्रविधिको सुरक्षित प्रयोगसम्बन्धी ब्रिक्स संयुक्त कार्य समूहका निष्कर्षहरूको पनि समीक्षा गरिनेछ।
भारतले सन् २०२६ मा चौथोपटक ब्रिक्सको अध्यक्षता गरिरहेको छ। ‘समावेशिता, नवप्रवर्तन, सहयोग र दिगोपनका लागि निर्माण’ भन्ने मूल विषयवस्तुमा केन्द्रित भारतीय अध्यक्षताले सदस्य राष्ट्रबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
हाल ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स गरी ११ सदस्य राष्ट्र आबद्ध छन्। संगठनले राजनीति, सुरक्षा, अर्थतन्त्र, वित्त, संस्कृति तथा जनस्तरीय आदानप्रदानका क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिँदै आएको छ।