बलियो संघीयताको माग गर्दै जनमत पार्टीको भोलि माइतीघरमा प्रदर्शन
डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले बलगर (बलियो) संघीयताको माग राख्दै भोलि माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।
संघीयतालाई बलियो बनाउनुपर्छ भन्दै यसअघि 'नौलो गणतन्त्र'का लागि आन्दोलनको घोषणा गरेको जनमत पार्टीले घोषणाबाहेक अरू थप कार्यक्रम गर्न सकेको थिएन । २०८१ जेठ १५ गते भृकुटीमण्डपबाट नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गरेको थियो ।
तर त्यसपछि प्रदेश तथा संघीय सरकारमा सहभागी भएपछि आन्दोनल स्थगित गरेको थियो । अहिले जनमत पार्टी न प्रदेश सरकारमा छ, न संघ सरकारमा । बलियो संघीयताको काम गर्दै भोलि प्रदर्शन गर्ने भएको छ । प्रर्दशनपछि केन्द्रीय समितिको बैठक पनि हुने जनमत पार्टीले जनाएको छ ।
भोलि (आइतबार) केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति, जिल्ला कार्यसमितिको पूर्ण बैठक बस्नेछन् । ती बैठकमा सहभागी हुन नेताहरू काठमाडौँ आइपुगेका छन् । त्यही मौकामा जनमत पार्टीले माइतीघरमा प्रदर्शनको कार्यक्रम राखेको हो ।