सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न सञ्चारमन्त्रीको निर्देशन
चितवन, ८ असार — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
आइतबार नेपाल टेलिकम भरतपुर कार्यालयको निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सेवाग्राहीलाई प्राथमिकतामा राख्दै छिटोछरितो र प्रभावकारी सेवा दिन आग्रह गरेका हुन्।
उनले विगतमा सरकारी कार्यालयबाट सेवा लिन निकै ढिलाइ हुने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै अब त्यसलाई सुधार गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताए।
मन्त्री तिमिल्सिनाले भने, “१० वर्ष अगाडि र अहिलेको अवस्था फरक छ। हिजो मान्छे एउटा सेवा लिनका लागि पाँच दिनसम्म कुर्न सक्थ्यो भने आज एक दिन पनि कुर्दैन। फोन गरेपछि अहिले नै आइदिए हुन्थ्यो भन्ने अपेक्षा हुन्छ, त्यसअनुसार सेवा दिनुपर्छ।”
उनले सेवाग्राहीबाट प्राप्त शुल्कबाट नै कार्यालय सञ्चालन हुने भएकाले सबैभन्दा ठूलो जवाफदेहिता सेवाग्राहीप्रति हुनुपर्नेमा जोड दिए।
निरीक्षणका क्रममा उनले नेपाल टेलिकमको कार्यालय व्यवस्थापन, भवन तथा अन्य संरचनागत समस्याबारे कर्मचारीसँग छलफल गरेका थिए।
नेपाल टेलिकमको पुनःसंरचना, कर्मचारीको वृत्ति विकास, आवश्यक उपकरण तथा अन्य चुनौतीबारे भरतपुर कार्यालय प्रमुख राकेश चौधरीसहितका कर्मचारीहरूले मन्त्रीसमक्ष सुझाव तथा माग प्रस्तुत गरेका थिए।