सी जिनपिङको प्योङयाङ भ्रमणपछि चीन–उत्तर कोरिया सम्बन्ध थप रणनीतिक बनाउने सहमति
प्योङयाङ — चिनियाँ राष्ट्रपति सी जिनपिङ को उत्तर कोरिया भ्रमणपछि चीन र उत्तर कोरिया ले द्विपक्षीय सम्बन्धलाई अझ रणनीतिक, दीर्घकालीन र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार सी जिनपिङ र उत्तर कोरियाली नेता किम जोङ उन बीच भएको शिखर वार्तामा परम्परागत मित्रतालाई नयाँ उचाइमा पुर्याउने तथा भविष्यका लागि ‘दूरगामी खाका’ तयार गर्ने सहमति भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्व नेतासँग बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेलगत्तै सीले सोमबार दुर्लभ रूपमा प्योङयाङ भ्रमण गरेका थिए। उत्तर कोरिया र रुसबीच पछिल्लो समय बढ्दो निकटताका बीच भएको यो भ्रमणलाई क्षेत्रीय शक्ति सन्तुलनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
दुई दिने भ्रमणका क्रममा दुवै नेताले राजनीतिक विश्वास, रणनीतिक सहकार्य र क्रान्तिकारी मित्रतालाई थप मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। उनीहरूले वर्कर्स पार्टीको केन्द्रीय क्याडर प्रशिक्षण विद्यालयको संयुक्त अवलोकन गर्नुका साथै कोरियाली युद्धमा ज्यान गुमाएका चिनियाँ सैनिकहरूको सम्मानमा निर्माण गरिएको मैत्री स्मारकमा वृक्षरोपण समेत गरेका थिए।
भ्रमणपछि किमलाई पठाएको सन्देशमा सी जिनपिङले साझा चासोका विषयमा गहन विचार आदानप्रदान भएको र महत्त्वपूर्ण समझदारी हासिल गरिएको बताएका छन्। उनका अनुसार उक्त सहमतिले साझा विकास, समृद्धि तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरताको संरक्षणमा दुवै देशको प्रतिबद्धता झल्काउँछ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले पनि नयाँ युगअनुसार चीन–उत्तर कोरिया सम्बन्ध विकास गर्ने विषयमा महत्त्वपूर्ण सहमति भएको जनाएको छ। सीले कूटनीतिक, सुरक्षा, कानून कार्यान्वयन तथा सैन्य सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
विश्लेषकहरूका अनुसार भ्रमणको एउटा महत्त्वपूर्ण पक्ष उत्तर कोरियाको आणविक कार्यक्रमबारे सार्वजनिक रूपमा कुनै चर्चा नगरिनु हो। ट्रम्पसँगको हालैको वार्तापछि आणविक निशस्त्रीकरणलाई साझा लक्ष्य बताइए पनि सी–किम वार्ताका आधिकारिक विवरणमा उक्त विषय उल्लेख गरिएको छैन। यसलाई केही विश्लेषकहरूले बेइजिङले उत्तर कोरियाको आणविक हैसियतलाई व्यवहारिक रूपमा स्वीकार गरिरहेको सङ्केतका रूपमा व्याख्या गरेका छन्।
यद्यपि पछिल्ला वर्षहरूमा प्योङयाङ र मस्कोबीचको सम्बन्ध उल्लेखनीय रूपमा नजिकिएको छ, चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक साझेदार बनेको छ। दक्षिण कोरियाको अर्थ तथा वित्त मन्त्रालयका अनुसार सन् २०२४ मा उत्तर कोरियाको कुल वैदेशिक व्यापारको करिब ९८ प्रतिशत, अर्थात् २ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार चीनसँग भएको थियो। यसले उत्तर कोरियामाथि चीनको आर्थिक प्रभाव अझै निर्णायक रहेको देखाएको छ।