उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
उदयपुरको कटारीमा १७ किलोग्रामभन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान कटारी नगरपालिका वडा नं.६ स्थित बैनाज पुल भित्री सडक खण्डमा प्रहरी चौकी रिस्कुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उदयपुरगढीबाट कटारीतर्फ आउँदै गरेको नम्बर नखुलेको एक मोटरसाइकललाई शङ्का लागेर प्रहरीले रोक्न खोज्दा चालकले गाडी नरोकी भगाएका थिए । सोही क्रममा मोटरसाइकलको पछाडि सवार उदयपुरगढी वडा नं. ६ बाउनटार घर भई हाल कटारी–४ सिम्ले बस्ने ३० वर्षीय नरबहादुर पुलामी मगर मोटरसाइकलबाट लडेका थिए। उनलाई गुडिरहेको गाडीबाट लडेकै अवस्थामा साथमा रहेको १७.०४० केजी गाँजासहित प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।
प्रहरीलाई देखेपछि मोटरसाइकलसहित फरार भएका चालकको खोजी कार्य तीव्र पारिएको छ। पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय कटारी उदयपुरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।