दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, उडान स्थगित
भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल मा आइतबार बिहान स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमान उडान भर्ने क्रममा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ। घटनामा कम्तीमा ६ जना यात्रु घाइते भएका छन्।
दिल्लीबाट जुरिख जाँदै गरेको उक्त विमान बिहान करिब १:०८ बजे धावनमार्गमा रहेका बेला प्राविधिक समस्या देखिएको थियो। विमानमा कुल २३२ जना (२२४ यात्रु र ४ शिशु सहित) सवार रहेका थिए।
आगलागी भएपछि चालक दलले तुरुन्तै उडान रोक्दै सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्ने निर्णय गरेको विमान सेवाले जनाएको छ। घटनापछि विमानस्थलमा पूर्ण आपतकाल घोषणा गरिएको थियो।
घाइते यात्रुहरूलाई नजिकैका निजी अस्पतालमा भर्ना गरिएको छ। सम्बन्धित विमान ठूलो आकारको यात्रुवाहक रहेको बताइएको छ।
घटनाको कारणबारे अनुसन्धान जारी रहेको विमानस्थल प्रशासनले जनाएको छ।