हेटौंडामा सडक विस्तार तीव्र, ५ सय सुरक्षाकर्मी परिचालनसहित संरचना हटाउन डोजर चल्यो
काठमाडौँ — हेटौंडा उपमहानगरपालिका क्षेत्रअन्तर्गत पर्ने राष्ट्रिय राजमार्गका सडक सीमाभित्र बनेका स्थायी तथा अस्थायी संरचना हटाउन आज बिहानदेखि डोजर चलाइएको छ। १५ दिने अल्टिमेटम शुक्रबार सकिएपछि आज बिहान ५ बजेदेखि सडक डिभिजन हेटौंडाले आवश्यक संरचना भत्काउने कार्य सुरू गरेको हो।
सडक विस्तारका लागि ५ सय सुरक्षाकर्मी र १० भन्दा बढी डोजर परिचालन गरिएको छ। अहिलेसम्म १५ भन्दा धेरै घर तथा संरचना भत्काइसकिएको डिभिजनले जनाएको छ। पूर्वमुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेलको मेन रोडस्थित पेन्टागन टावर परिसरमा पनि डोजर चलिएको छ।
महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म ७५–७५ फिटमा सडक विस्तार गरिने भएको हो। सर्वोच्च अदालतको आदेशलाई आधार बनाउँदै सडक डिभिजनले मंसिर ५ गते १५ दिने अल्टिमेटम जारी गरेको थियो। तोकिएको समयमा संरचना नहटाए आफैं भत्काइने चेतावनीसहित सूचना जारी गरिएको थियो।
सडक डिभिजन अनुसार बजार क्षेत्रको ९.५ किलोमिटर दायरा भित्र मात्र ५३१ संरचना भत्काउनुपर्ने छ। रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म पर्ने यी संरचनामध्ये सडक केन्द्रबिन्दुदेखि दायाँतर्फ २३४ र बायाँतर्फ २९७ घर–टहरा तथा संरचना हटाइने छ।