भाटभटेनी सुपरमार्केटको मुख्य गोदाम तीन महिनापछि सञ्चालनमा फर्कियो
काठमाडौँ – जेन–जी आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो मुख्य गोदाम पुनः सञ्चालनमा ल्याएको छ। बालुवाटारस्थित गोदाम आज रुद्री पूजासँगै औपचारिक रूपमा सञ्चालनमा आएको छ।
नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीका १२ स्टोरमा आन्दोलनका क्रममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो।
आगजनी र तोडफोडले बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामान व्यवस्थापन पुनः निर्माण तथा मर्मत गरी गोदाम सञ्चालनमा ल्याइएको हो। व्यवस्थापनका अनुसार ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउन काम तीव्र गतिमा अघि बढाइएको थियो।
गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।