जुम्ला–कालीकोटमा ३८ मेगावाट तिला जलविद्युत आयोजना बन्ने, लागत सात अर्ब
जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा ३८ दशमलव ०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजना निर्माण हुने भएको छ। कुल लागत करिब सात अर्ब ५६ करोड रुपैयाँ अनुमान गरिएको छ।
आयोजना निर्माणका लागि तिला नदीमा सात मिटर उचाइको बाँध निर्माण गरिनेछ र पानीलाई ‘साइड इेन्टेक गेट’मार्फत ग्राभेल ट्र्यापमा पुर्याइनेछ। त्यसपछि २८९ मिटर लामो स्टिल पेनस्टक पाइपमार्फत विद्युत्गृहमा पुर्याई विद्युत उत्पादन गरिनेछ। उत्पादन भएको विद्युत् १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारको सबस्टेसनमा जोडिनेछ।
निर्माण कार्यका लागि कुल ७.५८५ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा ४.७७२ हेक्टर वन क्षेत्र र २.८१३ हेक्टर निजी जग्गा पर्दछ। निर्माण अवधिमा स्थानीयले ३०–३२० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने अप्रत्यक्ष रूपमा स्थानीय व्यापार व्यवसायमा समेत आय वृद्धि हुने अपेक्षा गरिएको छ।
आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण र सम्भाव्यता अध्ययन पूरा भइसकेको छ। निर्माणपछि कुल ३४ घरधुरी प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ। तिला जलविद्युत् आयोजनाले अध्ययन अवधि पूरा भएपछि निर्माण कार्य अगाडि बढाउने जनाएको छ।
आयोजनाले स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म रोजगारी, रोयल्टी, सेयर तथा सामुदायिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।