जुम्ला–कालिकोट सिमानामा ३८.०७ मेगावाट तिला जलविद्युत्, लागत सात अर्ब ५६ करोड
जुम्ला — जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुन लागेको ३८.०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजना बनाउन करिब सात अर्बभन्दा बढी लागत लाग्ने भएको छ। पहिलो चरणको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमाथि सार्वजनिक सुनुवाइ सम्पन्न भएपछि आयोजना अगाडि बढ्ने तयारीमा छ।
आयोजनाका परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टका अनुसार आयोजनाको सम्भाव्यता अध्ययन चार वर्षअघि पूरा भइसकेको हो। तिला नदीमा प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ५२.५१ घनमिटर प्रतिसेकेन्ड रहनेछ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले २०७८ सालमै नापजाँच स्वीकृत गरिसकेको छ।
तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार आयोजना सञ्चालनपछि रोजगार, रोयल्टी, शेयर, सामुदायिक सहयोग तथा स्थानीय व्यवसायबाट आयआर्जन वृद्धि भई स्थानीयदेखि राष्ट्रिय तहसम्म प्रत्यक्ष लाभ पुग्नेछ। उत्पादन हुने विद्युत् १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत ३०.२० किमि दूरीमा जुम्ला बजार सबस्टेशनमा जोडिनेछ।
आयोजनाको सम्पूर्ण संरचना तिला नदीको बायाँ किनारमा रहनेछ। विद्युत् गृहबाट निस्कने पानी २५ मिटर लामो टेलरेस टनेलमार्फत पुनः नदीमै मिसाइनेछ। विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहका अनुसार आयोजना लागत करिब रु ७ अर्ब ५६ करोड ७४ लाख अनुमान गरिएको छ।
आयोजनाका लागि ७.५८५ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा ४.७७२ हेक्टर वन क्षेत्र र २.८१३ हेक्टर निजी क्षेत्र परेको विभागले जनाएको छ। निर्माण अवधिभर स्थानीयलाई रोजगारीमा प्राथमिकता दिइनेछ र स्थानीय व्यापार–व्यवसायमा वृद्धि हुने अपेक्षा राखिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले बताए।
आयोजना तथा सञ्चालनबाट ३४ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ। प्रभावित घरधुरीको विवरण सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको छ। अध्ययन अवधि पूरा भएपछि आयोजनाको निर्माण कार्य अघि बढाइने तिला जलविद्युत् आयोजनाले जनाएको छ।