सेती नदीमाथिको पुल पाँच वर्षमा पनि अधुरो, ६५ प्रतिशत मात्र प्रगति
तनहुँ । व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथिको निर्माणाधीन पुल पाँच वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । हालसम्म पुलको भौतिक प्रगति ६५ प्रतिशत मात्र भएको छ ।
व्यास–३ र ऋषिङ–१ जोड्ने पुल निर्माणमा ठेकेदार कम्पनीको ढिलाइका कारण काम प्रभावित भएको हो । पटक–पटकको ताकेतापछि हाल पुनः निर्माण कार्य तीव्र बनाइएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्र तिवारीले बताए ।
गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भइरहेको १५५ मिटर लामो स्टिल ट्रस पुलको चौडाइ ९.५० मिटर हुनेछ । पुल निर्माणका लागि विसं २०७७ मङ्सिरमा सम्झौता भई २०७७ चैतमा शिलान्यास गरिएको थियो ।
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुलको म्याद तीन पटक थप भइसकेको छ । अन्तिम पटक २०८२ चैतसम्म म्याद थप गरिएकाले सो अवधिभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको कार्यालयले जनाएको छ ।