जनकपुर–ढल्केबर सडकखण्डमा तीन आकासे पुल निर्माण
मधेस–प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन व्यस्त स्थानमा आकासे पुल निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ। पैदलयात्रुको चाप, बढ्दो ट्राफिक र दुर्घटनाको जोखिम कम गर्न करिब १० करोड ५० लाख रुपैयाँ लागतमा पुल निर्माण सुरु गरिएको सडक डिभिजन कार्यालय धनुषाले जनाएको छ।
कार्यालयका इन्जिनियर उज्जवल झाका अनुसार लक्ष्मीनियाँ गाउँपालिकाको लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित महिला विकास चोक र सखुवा चोकमा आकासे पुल निर्माण भइरहेको छ। तीनै स्थानमा पछिल्लो एक महिनादेखि पिल्लर र अन्य आधारभूत संरचना निर्माण भइरहेको र तोकिएको समयमै काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
तीनवटै आकासे पुल क्रमशः तीन करोड ४२ लाख, तीन करोड ३५ लाख र तीन करोड ४५ लाख रुपैयाँ लागतमा बन्नेछन्। सबै पुल ५.६ मिटर उचाइ, २९.४ मिटर लम्बाइ र ३ मिटर चौडाइका रहने छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सूर्यबहादुर शाहीले पुल निर्माणपछि सडकखण्डमा ट्राफिक व्यवस्थापन सहज हुने र दुर्घटना जोखिम घट्ने बताए। उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादव र स्थानीय रोहितराज खनालले धार्मिक तथा स्थानीय यात्रुको चाप हुने क्षेत्र भएकाले आकासे पुलले दुर्घटना न्यूनीकरणसँगै सहरी सौन्दर्यकरणमा पनि टेवा पुग्ने धारणा राखे।
सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षभित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।