गुल्मीमा ‘मिसन रोजगारी’ अभियान सुरु, स्थानीय उद्यमी सशक्तिकरणमा जोड
गुल्मी, १९ मंसिर – रेसुङ्गा नगरपालिकामा ‘मिसन रोजगारी’ अभियान औपचारिक रूपमा सुरु भएको छ। नगरपालिकाको पहल र दायित्वको प्राविधिक सहकार्यमा सञ्चालन हुने यो कार्यक्रम वृद्धिमुखी उद्यमशीलता र स्थानीय रोजगारी प्रवर्द्धनमा केन्द्रित छ।
कार्यक्रम १८० दिनसम्म विभिन्न चरणमा सञ्चालन हुनेछ र यसले लघु तथा साना उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न लक्ष्य राखेको छ। नगरप्रमुख खिलध्वज पन्थीका अनुसार, योग्य उद्यमी र इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको छ।
अभियान अन्तर्गत आवेदन आएकामध्ये सोच, सीप, नवप्रवर्तन, बजार सम्भावना, नेतृत्व क्षमता र सामुदायिक प्रभावका आधारमा ४० उद्यमीहरू छनोट गरिनेछ। छनोटमा परेका उद्यमीहरूले वित्तीय सहयोग, बजार पहुँच, सिप विकास र व्यवसाय योजना समर्थन जस्ता अवसर पाउनेछन्।
त्यसपछि उत्कृष्ट २० उद्यमीहरूलाई उद्यम नवप्रवर्तन शिविरमा सहभागी गराई व्यावसायिक योजनालाई थप प्रतिस्पर्धी बनाइनेछ। अन्ततः उत्कृष्ट १० उद्यमीलाई उत्पादन क्षमता अभिवृद्धि, ब्रान्डिङ रणनीति, प्रविधि नवप्रवर्तन र प्रदेश–राष्ट्रिय स्तरको उद्यम प्रदर्शनीमा सहभागिता जस्ता विशेष सहयोग उपलब्ध गराइनेछ।
नगरप्रमुख पन्थीले स्थानीय उद्यमीलाई सीप, प्राविधिक सहयोग र बजार पहुँच उपलब्ध गराउँदै रेसुङ्गा नगरपालिकालाई उद्यमशील र रोजगारमुखी बनाउने साझा यात्रामा अघि बढिएको बताए। उनले यस अभियानको सफलता सहभागी उद्यमी, समुदाय र सरोकारवालाको सक्रिय सहभागितामा निर्भर हुने पनि स्पष्ट पारे।
‘मिसन रोजगारी’ अभियानले रेसुङ्गामा कृषि, पर्यटन, सेवाक्षेत्र र उत्पादनमूलक उद्यमका अवसरहरूलाई व्यवस्थित उद्यमशीलतामा रूपान्तरण गर्दै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।