१८ पटक विज्ञापन गर्दा पनि गणित शिक्षक नआएपछि विद्यालयको १९औँ प्रयास
कालिकोट — नरहरिनाथ गाउँपालिका–७ उच्छवस्थित श्री रुपादेवी माध्यमिक विद्यालयले गणित विषयका लागि संघीय अनुदानको शिक्षक पद पूर्ति गर्न १८ पटक विज्ञापन गर्दा पनि उपयुक्त उम्मेदवार नपाएपछि १९औँ पटक पुनः दरखास्त आह्वान गरेको छ।
विद्यालय व्यवस्थापन समितिको कात्तिक ३० गतेको निर्णयअनुसार माध्यमिक तहको गणित शिक्षकका लागि ७ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ। स्नातक तह (गणित) उत्तीर्ण, अध्यापन अनुमति पत्रयुक्त तथा १८–४० वर्ष उमेरसमूहका नेपाली नागरिकहरू आवेदन दिन योग्य हुने विद्यालयले जनाएको छ।
अघिल्ला विज्ञापनहरूमा एकजना पनि आवश्यक योग्यता पुगेको उम्मेदवार नआएपछि विद्यालयमा गणित शिक्षकको अभावले विद्यार्थीको पठन–पाठन प्रभावित भएको प्रधानाध्यापक दानबहादुर बुढा र समितिका अध्यक्ष मनबहादुर विकले बताए।
छनोट प्रक्रिया लिखित, मौखिक वा प्रयोगात्मक परीक्षा मार्फत हुने र आवेदन शुल्क २ हजार रुपैयाँ तोकिएको विद्यालयले जानकारी दिएको छ।