दिल्लीस्थित नेपाली दूतावासद्वारा जेनजी आन्दोलन पुनर्निर्माण कोषमा सहयोग आह्वान
नयाँ दिल्ली — दिल्लीस्थित नेपाली राजदूतावासले जेनजी आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचना, आर्थिक पुनरुत्थान र राहतकार्यका लागि आर्थिक सहयोगको अपिल गरेको छ।
भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले प्रवासी नेपाली र भारतीय नागरिकहरूले नेपाल सरकारको ‘एकद्वार प्रणाली’ अन्तर्गत भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सोझै अनलाइन मार्फत योगदान गर्न सक्ने बताए। उनले व्यक्तिगत आर्थिक सङ्कलन नगर्न र सबै सहयोग रकम सोझै राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोषको खातामा पठाउन सुझाव दिए।
राजदूत शर्माले भौतिक संरचना पुनर्निर्माणका साथै शहीद र घाइते परिवारलाई पनि यही कोषमार्फत राहत उपलब्ध गराइने जानकारी दिएका छन्। भारतमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले करमा छुटको व्यवस्था गरी ठूला योगदानकर्ताहरूलाई सहयोग गर्न दूतावासको भूमिका महत्त्वपूर्ण हुने सुझाएका छन्।