पाकिस्तानी दूतावासको सहयोगमा ज्ञानोदय विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला
काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ।
पाकिस्तानका राजदूत अब्रार एच हाशमीले शनिबार नवस्थापित प्रयोगशालाको उद्घाटन गर्दै विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरे। उनले पाकिस्तानका जनताबाट प्राप्त सहयोगअन्तर्गत नेपालमा शिक्षाको प्रवर्द्धन र डिजिटल सिकाइका लागि निरन्तर साथ प्रदान गरिएको बताए। कार्यक्रममा पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्री, काठमाडौँ महानगरपालिका–१३ का अध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख डा. शमन्तमणि आचार्य र महाजगरका शिक्षा विभाग प्रमुख केशव ज्ञवालीलगायतको सहभागिता थियो।
विद्यालयकी प्रधानाध्यापक विष्णु घिमिरे रिमालका अनुसार नवनिर्मित प्रयोगशालामा ४०२ ब्रान्ड नयाँ कम्प्युटर, नयाँ फर्निचरलगायत शिक्षण सहायताका सामग्रीहरू उपलब्ध गराइएको छ, जसले विद्यार्थीहरूको डिजिटल सिकाइलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।