गृहमन्त्री अर्यालद्वारा क्षतिग्रस्त प्रहरी वृत्त र प्रभागको अवलोकन
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको आज अवलोकन गरेका छन्।
भदौ २४ गते भएको आन्दोलनका कारण क्षति पुगेको उक्त क्षेत्रको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले प्रहरीको कामकारबाही र क्षेत्रको शान्ति सुरक्षासम्बन्धी जानकारी लिएका हुन्। उनले मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्न र अपराध नियन्त्रणमा प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए।
अवलोकनको क्रममा गृहमन्त्रीले क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नागरिकस्तरबाट नेपाल प्रहरीले देखाएको सद्भावको प्रशंसा गर्दै अब प्रहरीले शान्तिसुरक्षा मात्र नभई सुशासन प्रवर्द्धनमा पनि ध्यान दिनुपर्नेमा जोड दिए।
गृहमन्त्रीसँगै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पनि अवलोकनमा सहभागिता जनाएका थिए।