नागढुंगा सुरुङ मार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोट गर्नका लागि टेन्डर आह्वान गरेको छ । बोलपत्र बुझाउने अन्तिम मिति आगामी २०७८ पुस २ गते (१७ डिसेम्बर २०२५) तोकिएको छ ।
सुरुङ मार्ग सवारी साधन चलाउन सक्ने अवस्थामा पुगे पनि दक्ष जनशक्ति र सुरक्षासम्बन्धी कारणले हालसम्म सञ्चालनमा आएको छैन ।
सुरुङमा अत्याधुनिक प्रणाली समावेश भएकाले सडक विभागको हालको कार्यबोझ, सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सञ्चालन तथा मर्मत कार्य कठिन हुने ठहर गर्दै विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो ।
छनोट हुने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङ मार्गको सञ्चालन र मर्मतको जिम्मेवारी वहन गर्नेछ ।
ट्राफिक व्यवस्थापन, अनुगमन तथा नियन्त्रणका लागि १४ जना, र सिभिल संरचना तथा अन्य मर्मतका लागि ८/८ जना प्राविधिक जनशक्ति रहने व्यवस्था गरिएको छ ।
मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपतकालीन सुरुङको लम्बाइ २.६ किलोमिटर छ । सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर पनि तोकेको छ ।
सुरुङमार्गमार्फत कार तथा भ्यान ले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
मिनिबस तथा मिनिट्रक ले काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रक ले आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ, र भारी उपकरणयुक्त सवारी साधन ले आउँदा ६०० रुपैयाँ तथा जाँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।