डा. डिला संग्रौलाद्वारा नेपाली कांग्रेसमा ‘आन्तरिक सुशासन आयोग’ गठनको माग
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीभित्र ‘आन्तरिक सुशासन आयोग’ गठन गर्न माग गरेकी छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेकी हुन्।
डा. संग्रौलाले आयोगलाई पार्टीका जनप्रतिनिधिहरूको विगतको कार्यशैली र प्रवृत्तिको समीक्षा गर्दै निश्चित मापदण्डका आधारमा अनुगमन गर्ने, प्रोत्साहन, चेतावनी र कारबाही सिफारिस गर्ने अधिकार दिनुपर्ने धारणा व्यक्त गरिन्।
उनको भनाइमा, यस्तो व्यवस्था लागू गर्न सक्ने हो भने पार्टीभित्र स्वच्छ छवि र जबाफदेहिता स्थापित गर्न मद्दत पुग्नेछ। भ्रष्टाचारका हरेक प्रकरणको गहिराइमा गएर निष्पक्ष छानबिन गर्न कांग्रेसको स्पष्ट प्रतिबद्धता र पूर्ण सहयोग रहनुपर्ने उनले उल्लेख गरिन्।
**"सुशासनको स्थापना हाम्रो राजनीतिक एजेन्डाको केन्द्रबिन्दु हुनुपर्छ,"** संग्रौलाले भनिन्, **"पार्टीको यौवन फर्काउन हामीले विधान संशोधनको ढोका खोल्नै पर्छ।"**
उनले बैठकमार्फत पार्टीका सबै तहमा प्रतिस्पर्धाको माध्यमबाट ‘जेन-जेड’ उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने मागसमेत राखिन्। उनका अनुसार युवाहरूको ऊर्जा र दृष्टिकोण पार्टी सञ्चालनमा समावेश नगरी कांग्रेस आधुनिक बन्न सक्दैन।
डा. संग्रौलाले पार्टीलाई आधुनिक, जीवन्त र युवामैत्री बनाउन दृढ सङ्कल्प गर्नुपर्ने धारणा व्यक्त गरिन्। साथै, २००७ सालदेखि हालसम्म मुलुकका हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले अब शान्ति, स्थिरता र विकासको मार्गमा पनि नेतृत्व लिनुपर्ने दाबी गरिन्।
भदौ २४ गते देशभर कांग्रेस नेतृत्व र कार्यालयहरू, साथै नेताहरूका घरहरूमा भएको आगजनीको घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्, **"कसले आगो लगायो ? छानबिन गरेर दोषी जो कोही पाइए पनि तिनलाई कडा कारबाही गरिनुपर्छ।"**
अन्त्यमा, प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित गर्दै लोकतान्त्रिक संविधानलाई सहज रूपमा अगाडि बढाउने कार्यमा कांग्रेसले अग्रसर भूमिका निर्वाह गर्नुपर्ने उनको जोड थियो।