राहतमा विभेद गरेको भन्दै कटहरिया नगरपालिकामा ताला
हालै निलम्बन फुकुवा भएका मेयर अजय प्रकाश जैसवालले बाढी पीडितको राहतमा विभेद गरेको भन्दै कटहरिया नगरपालिकामा तालाबन्दी गरिएको छ। दर्जनौँको संख्यामा गएका बाढी पीडित तथा जनप्रतिनिधिसहितको टोलीले मेयरको कार्यकक्ष र जिनसी फाँटमा तालाबन्दी गरेका हुन्।
तालावन्दीपछि पीडितहरूले मेयर चोर कुर्सी छोड जस्ता नारा लगाउँदै कटहरिया बजारमा प्रदर्शन गरेका छन्। गत असोजको दोस्रो साता परेको अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरियामा सैयौं परिवार पीडित भएका थिए।
मेयर जैसवालले आफ्ना नजिकका मानिस तथा नातेदारलाई मात्र राहत दिएको र अन्य गरिब विपन्न लाई वञ्चित गरेको कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको एकजना पीडित कतहरिया ४ का श्याम सुन्दर साह सोनारले गुनासो गरे। वडा ५ का सदस्यद्वय रामेश्वर यादव वैद्यनाथ दाशका अनुसार मेयर अजय प्रकाशले नगरका कुनै पनि जनप्रतिनिधिलाई सल्लाह नगरी आफ्नो मनपर्दी नजिकका मानिसलाई मात्र राहतको लागि कुपन दिएको आरोप लगाए ।
सम्पूर्ण पीडितलाई राहत नदिएसम्म ताला नखोलिने आन्दोलनकारीहरूले अडान राखेका छन्।