मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा गरे मध्यरातमा प्रादेशिक अस्पतालको छड्के जाँच
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञानप्रतिष्ठान अन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शनिबार अबेर राति अचानक छड्के जाँच तथा निरीक्षण गरेका छन्।
बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासा आएपछि मुख्यमन्त्री सिंहले शनिबार राति ११ बजे प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका हुन्।
उनले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्षलगायत निरीक्षण गरी ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको संख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा जानकारी लिएका छन्।
त्यसक्रममा मुख्यमन्त्री सिंहले त्यहाँ कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए। उनले ड्युटी कक्षमा कामका लागि निर्धारित संख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापारबाही नगर्नसमेत निर्देशन दिए।
मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक र उचित औषधि राख्न भन्दै सूची अनुसारको औषधि अभाव हुन नदिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिए।
उनले निरीक्षण क्रममा बिरामी र तिनका कुरुवा अस्पतालका सेवा सुविधाका बारेमा कुराकानी गरे। रातका समयमा जनशक्ति अभाव, उपयुक्त रेखदेखमा कमी र अस्पताल भित्रका फार्मेसीमा औषधि अभावका बारेमा केही कुरुवाले गुनासो गरेपछि मुख्यमन्त्री सिंहले त्यहाँ आइपुगेका प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवलाई ती समस्या समाधान गर्न निर्देशन दिए।
उनले अस्पतालमा बिरामीको चापमा अत्यधिक वृद्धि भइरहेका बेला भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएको उल्लेख गर्दै अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविद्यीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
रातका समयमा मुख्यमन्त्री सिंहले अस्पतालको निरीक्षण गरेकामा बिरामी तथा कुरुवाहरूले खुसी व्यक्त गरेका छन्।