लगातारको वर्षासँगै सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ५६ मध्ये ४१ ढोका खोलियो
काठमाडौं । लगातारको वर्षासँगै सप्तकोशी नदीको जलसतह बढेको छ ।
आइतबार बिहान गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ८ सय क्युसेक पुगेको हो। सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढे पछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन् ।
सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेको छ। उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको हो ।
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव १ लाख ५० हजार कट्दा पश्चिमतर्फ र २ लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ।
पानीको बहाव ३ लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको हो।