बालयौन दुरुपयोग मुद्दामा बम्जन दोषी ठहर
काठमाडौं । कथित तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार हाल सर्लाही कारागरमै थुनामा रहेका बम्जनलाई सोही मुद्दामा दोषी ठहर गरेको हो । २०८० साल पुस २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेपछि थुनामा पठाइएका बम्जन बालयौन दुराचार मुद्दामा दोषी ठहर भएका छन् ।
उनलाई उक्त मुद्दामा दोषी ठहर गरेको अदालतले सजाय भने पछि निर्धारण गर्ने भएको हो । त्यसका लागि छुट्टै पेशी तोकिने भएको छ । बम्जनविरुद्ध विभिन्न सर्लाही, पर्सा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामासमेत यौन दुराचार गरेको र मानिस बेपत्ता पारेकोसहितका आरोपमा मुद्दा अघि बढ्दैछ ।
आफूलाई तपस्वी दावी गर्दै आएका बम्जन लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए । उनलाई बुढानीलकण्ठस्थित घरैबाट पक्राउ गरिएको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीय रिता बोटलाई बेपत्ता पारेको आरोपमा उनकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन् ।
बम्जनमाथि बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग समेत लागेको छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनविरुद्ध उजुरी परेको थियो ।